काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्र काठमाडौँ ४ बाट रास्वपाले हाल काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उठाउने भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' निकट रहेका राजु पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र ४ बाट उम्मेद्वारी दिने भएका हुन् । बालेन शाह पनि महानगर प्रमुखबाट राजीनामा दिएर रास्वपाबाट चुनावी प्रतिस्पर्धामा हाेमिने तयारीमा छन् ।
नेपाली कांग्रेसका महामन्त्री थापा चौथोपटक निर्वाचित भएको क्षेत्र हो काठमाडौँ ४ । महामन्त्री थापा २०६४, २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वीहरूलाई उच्च मतान्तरले पराजित गर्दै यस क्षेत्रबाट निर्वाचित भईरहेका छन् । गगन थापाले २०७९ को निर्वाचनमा २१ हजार ३०२ मत ल्याएका थिए ।
यो सँगै नेकपा एमालेले काठमाडौँ क्षेत्र ४ मा राजन भट्टराईलाई उम्मेदवारका रूपमा उठाउँदै आईरहेको छ । गत निर्वाचनमा भट्टराईले १३ हजार ८५५ मत ल्याएर गगन थापासँग ७ हजार ४४७ मतान्तरले पराजित भएका थिए ।
राप्रपाले भने, आगामी निर्वाचनमा कस्लाई उठाउने भनेर टुङ्गो लगाइसकेको छैन । यसरी हेर्दा काठमाडौँ क्षेत्र ४ मा आगामी फागुन २१ को निर्वाचनमा सशक्त प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक पनि महामन्त्री थापाको काठमाडौँ नाम क्षेत्र ४ बाट सिफारिस गरिएकाे छ ।