काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘रसियन फिल्म डेज’को औपचारिक उद्घाटन भएको छ।
कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार बिहान विशेष अतिथि नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन सक्साएब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स सक्साएबले शुभकामना मन्तव्य दिँदै चलचित्रको समाजमा विशेष प्रभाव रहने उल्लेख गर्दै चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबीच सद्भाव कायम राख्नुपर्नेमा जोड दिए। यसका लागि ‘रसियन फिल्म डेज’ले निरन्तर प्रयास गर्दै आएको उनले बताए। उनले निफको नवौँ संस्करणको उद्घाटन कार्यक्रममा नेपालको पहिलो रङ्गीन फिल्म ‘कुमारी’का निर्देशक, नायिका र छायाकारसँग भेटेर विशेष अनुभव बटुलेको समेत साझा गरे।
नेपाल र रूसबीचको ७० वर्ष लामो मित्रताको सन्दर्भमा निफ र ‘रसियन फिल्म डेज’बीचको सहकार्यले विशेष महत्व राख्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले बताए। उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रमका सभाध्यक्षमध्येकी अनास्थासिया खक्खलोभाले निफ र रसियन हाउसको सहकार्यमा भइरहेको चलचित्र महोत्सव तथा एआई फिल्म कार्यशालामा सहभागी हुन सबैलाई आग्रह गरिन्।
निफका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य दिँदै ‘रसियन फिल्म डेज’सँगको सहकार्यले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ प्रदर्शन गरिएको छ। दोस्रो विश्वयुद्धको अन्त्यतिरको घटनामा आधारित यस फिल्ममा सोभियत रेड आर्मीलाई पछाडिबाट हुन सक्ने आक्रमण रोक्न काउन्टर इन्टेलिजेन्स एजेन्सीले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ। यो फिल्म इल्या लेबेदेव र निकिता वैसोत्स्कीले संयुक्त रूपमा निर्देशन गरेका हुन्।
‘रसियन फिल्म डेज’ अन्तर्गत ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ पनि प्रदर्शन गरिनेछ।
क्लिम शिपेन्कोद्वारा निर्देशित ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायांकन गरिएको पहिलो फिल्म हो, जसमा एक चिकित्सकले अन्तरिक्ष स्टेसनमा बिरामीको शल्यक्रिया गर्नुपर्ने साहसिक कथा प्रस्तुत गरिएको छ।
म्याक्सिम भोल्कोभद्वारा निर्देशित ‘द डिनो प्यामिली’ एडभेन्चर र पारिवारिक कथा हो, जसमा एक किशोरी डाइनोसर युगमा पुगेर जीवन रक्षा गर्न संघर्ष गर्छिन्।
इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले विद्यालयस्तरमा हुने ‘बुलिङ’को विषय उठान गरेको छ । उल्लेखित सबै फिल्महरू रसियन हाउसमा निशुल्क रूपमा प्रदर्शन गरिनेछ।