काठमाडौँ । ग्वलः क्षेत्रमा रहेको लिच्छविकालिन (नास: द्यः छेँ) मा नित्यनाथको प्रतिमा पुनःस्थापना गरिएको छ । काठमाडाैँ महानगरपालिका वडा ८ नवाली टोलमा रहेकाे (नास: द्यः छेँ) मा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाध्यक्ष आशामान संगत सहित स्थानियहरुले विधिपूर्वक पुजा गरी नित्यनाथको प्रतिमा पुनःस्थापना गरिएको हो ।
वडाध्यक्ष आशामान संगतले,‘ पुन: निर्माणकाे चरणलाई अगाडी बढाउन हाल विधिपूर्वक पुजा गरिए पनि प्रतिमामा प्राण प्रतिष्ठा निर्माण सम्पन्न भएपछि गरिने बताउनुभयाे । उहाँले,'सहरको पहिचान कायम गराउन नेपाली परम्परागत शैलीमा सत्तलको पुनःनिर्माण भईरहेको र बिहिबार नित्यनाथको प्रतिमा पुनःस्थापना गरिएको बताउनुभयो ।’
‘परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नु पर्ने प्रचलन रहिआएको छ । यसरी गरिने पूजामध्ये पनि बिहीबारको पूजालाई विशेष मानिन्छ । यही मान्यताअनुसार बिहीबारको दिन पारेर शिलान्यास गरिएको स्थानीय राजेश संगतले बताउनुभयाे ।’
नास: द्यः छेँ काे लिच्छविकालमा निर्माण भएको अभिलेखमा देखिन्छ । निर्माण कसले गराए, किन गराए, जीर्ण भएका बेला कसकसले पुनःनिर्माण गराए भन्ने विवरण अभिलेखमा छैन । निमार्णधिन सत्तलको लागत करबाहेक करिब २ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको छ ।
९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो ।
तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइनेछ भने, तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ ।
उक्त सत्तलको फागुन ७ गते गगन थापा, वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले शिलान्यास गर्नुभएको थियो ।