काठमाडौँ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा सम्पन्र प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी क्रिजल फुटबल क्लब मण्डिखाटारले जितेको छ ।
नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा सम्पन्र प्रतियोगितामा कुल १२ वटा टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा क्रिजल फुटबल क्लब मण्डिखाटारले जुनियर फुटबल क्लब बालुवाटारलाइ १-० गोल अन्तरले पराजित गर्दै उपाधी हासिँल गरेको हो ।
फाइनल खेलको अन्तिम समयमा क्रिजल फुटबल क्लब मण्डिखाटारका खेलाडीले निर्णायक गोल गरेको थियो । जित संगै क्रिजल फुटबल क्लब मण्डिखाटारले पुरस्कारस्वरूप नगद १ लाख ३६ हजार (कर सहित), ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको थियो भने, उप विजेता जुनियर फुटबल क्लब बालुवाटारले नगद रू ६८ हजार (कर सहित) ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वाधिक गोल कर्ताको उपाधी जुनियर फुटबल क्लबकि सुजिता घलानले प्राप्त गरेकी थिइन । त्यसैगरि उत्कृष्ट गोल रक्षक उषा थापा, उत्कृष्ट खेलाडी क्रिजल फुटबल क्लब मण्डिखाटारकी सम्झना तामाङ घोषित भइन । उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार सहित ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगीताको सभापतित्व नगरपालिका खेलकुद विकास समितिका संयोजक सञ्जय लामा, प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, विशेष अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, वडा अध्यक्षहरू नन्दलाल श्रेष्ठ, जयराम महत लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा गोकर्णेश्वरबाट फुटबल खेलमा उल्लेखनीय योगदान पुर्याउने पुर्व राष्ट्रिय खेलाडी, रेफ्री प्रशिक्षक लगायतलाई सम्मान गरिएको थियो ।