काठमाडाैँ । हिमाली बौद्द धर्म र परम्परा शीर्षकमा पाँच दिने प्रशिक्षण कार्यक्रम बौद्धमा शुरु भएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजना तथा बौद्ध जागरण केन्द्र र छर्योतेन टासी तामाङ गुम्बाको व्यवस्थापनमा भएको उक्त कार्यक्रमकाे प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे रहनुभएकाे थियाे ।
कार्यक्रमकाे उद्घाटन मन्त्री पाण्डेले छयोमे बाली गर्नुभएकाे थियाे । बौद्ध जागरण केन्द्रका महासचिव आले लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।
कार्यक्रमका विशेष अतिथी बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका अध्यक्ष गेशे खम्वो थुप्तेन फुपु याङजी (जिक्टोल) लामा र योगमाया विश्व विद्यालयका उपकुलपती प्रा.डा रमेश ढुंगेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले, 'कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै संस्कार संस्कृतिको प्रवर्धनमा अग्रज गुरुजनबाट ज्ञानको हस्तान्तरण हुदैँ जानुपर्नेमा बताउनुभयाे ।' उनले मुलुकका कतिपय धार्मिकस्थल चीन र भारतका पनि आस्थाका केन्द्र भएकाले ती देशबाट अधिकारिक धार्मिक पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवद्र्धन अपरिहार्य भएको बताए । उनले बुद्ध र वेदभूमि हाम्रो देश समान धार्मिक विश्वासका कारण दुवै राष्ट्रका निम्ति आस्थाका केन्द्र भएका बताए ।
मुलुकका धार्मिक एवं सांस्कृतिकस्थलको समुचित प्रचारप्रसार हुनुपर्नेमा जोड दिँदै मन्त्री पाण्डेले त्यसो हुन सकेमा धार्मिक पर्यटन विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले धर्मसंस्कृतिको प्रवरद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले, 'बौद्द बाहुल्य रहेका ५० भन्दा बढी जिल्लाका ६०० भन्दा वढी लामा गुरुहरुको सहभागीता रहेको बताए ।' उनले बौद्ध धर्मको संस्कार भित्र रहेका वेथितीहरुलाई न्युनीकरण गर्न र धर्म गुरुहरुले गर्ने संस्कारमा एकरुपता ल्याई संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्ने र धर्म संस्कार संरक्षणलाई अझ दिगो बनाउन बौद्ध परम्पराका चारै लामा गुरुहरु सँग सल्लाह गरी कार्यक्रम ल्याएको हुँदा कार्यक्रम फलदायी हुने बताए ।
पछिल्लो समय सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दै गएको समयमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले बालबालिकालाइ असल संस्कार, नैतिक ज्ञानको साथै बुद्ध शिक्षा दिने उदेश्यले क्षेत्रको ६ स्थानमा बाल संस्कार अध्ययन केन्द्र सञ्चालन गरिरहेको जहाँ ३ सय बालबालिकाले अध्ययन गरिरहेको बताए । श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्य क्षेत्र भित्र रहेका समस्या समाधानका लागी गुरुयोजना समेत तयार गरेको र केहि दिन भित्र त्यो मन्त्रालयमा पेश गर्ने जानकारी गराए ।
उनले बौद्ध नाथ महाचैत्य क्षेत्र भित्र रहेका मूर्त र अमूर्त सम्पदाहरुको अध्ययनको काम सम्पन्न भएको र त्यसको अभिलेखीकरणको लागी कार्य अघि बढाएको बताए । श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्य संरक्षण सम्वर्धन प्रवद्रधन गर्नुका साथै सकारात्मक सोचका साथ विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको बताए । उनले पाँच दिने प्रशिक्षण दौरान सिकेका ज्ञानलाई व्यवहारमा उतार्न समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा धर्म गुरु लोसाङ नाम्ग्याल रिन्पोछे, गोकर्णेश्वर नगरपालिकाको उप प्रमुख सान्नानी लामा, वडा अध्यक्ष नवराज लामा, बुढानिलकण्ठ नगरपालिकाका वडाअध्यक्ष शम्भु भट्टराई, श्री बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, दिलिप कुमार लामा, वर्तमान सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, सुरज लामा, रग्वा शेर्पा लगायत स्थानिय समाजसेवी, लामा प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो । आइतबारबाट शुरु भएको उक्त कार्यक्रम आयु अभिषेक संगै समापन हुनेछ ।