‘रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो फिचर)

दक्ष खबर 7715+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’का प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्बिरहरू सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक यी तस्बिरहरू ‘रङ्गेली’ छायाङ्कन अवधिका हुन् । यस चलचित्रमा दया र मिरुनाले जोडी बाँधेका छन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुना सहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।