काठमाडाैँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने बताइएकाे छ ।
त्यस्तै, शहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने, सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रश्ताव प्रश्तुत गर्नुहुने बताइएकाे छ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुने, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
त्यस्तै, दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने, खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने, प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति आयोगको आ.व. २०७९/८० को चौथो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूचि रहेको छ ।