पेरिस ओलम्पिक सम्पन्न, अमेरिकाले जित्यो ४० स्वर्ण

दक्ष खबर 16514+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् । 

तर, अमेरिका पदक तालिकाको शिर्ष स्थानमा रहेकाे छ । कुल १ सय २६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो ।

यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वणर्सहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन हिजो १३ स्वणर्को लागि प्रतिस्पर्धा भएको थियो ।

अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले २० स्वणर्सँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अस्ट्रेलिया १८  स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो भएको छ ।

आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ । पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले  स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् ।

पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री-स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन् । 

महिला म्याराथनमा सन्तोषी श्रेष्ठले ७९औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् । ३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा गएराति समापन भएको हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार