कामपा ४९औँ कार्यपालिका बैठक : ७ वटा क्षेत्रमा पेश भएका विविधसहित १९ वटा प्रस्ताव पारित

दक्ष खबर 16620+ समाचार ( )
२ जेठ २०८३, आइतबार

काठमाडौँ । कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्ति सम्बन्धी व्यवस्था गरिएको कार्यविधि संशोधनसहित पेश भएका १९ वटा प्रस्ताव पारित गर्दै काठमाडौँ महानगरपालिकाको ४९औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरपालिकाको सभा कक्षमा आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा ७ वटा क्षेत्रका विविधसहित १९ वटा प्रस्ताव पेश गर्ने कार्यसूची थियो । 

वैठकले कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरेको छ । आज बेलुका उहाँ कार्यक्रम सहभागी हुन गएपछि नफर्किउञ्जेल सम्मका लागि कार्यवाहक प्रमुखका रुपमा काम गर्न उहाँले ज्येष्ठताका आधारमा वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई जिम्मेवारी तोक्नुभएको छ । 

वैठकले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम मुकरर गर्ने निर्णय गरेको छ । 

वैठकमा प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र समितिका तर्फबाट सदस्य सचिव तथा विभागीय प्रमुखहरु नमराज ढकाल, दिपक अधिकारी र जगदीश अर्यालले प्रस्ताव पेश गर्नुभएको थियो ।


यस्तै वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी विषयमा वातावरण व्यवस्थापन विभागका वरिष्ट इञ्जिनियर रामप्रसाद नेपालले प्रस्ताव पेश गर्नुभएको थियो । शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्य सचिव एवं शिक्षा अधिकारी नमराज ढकालले, छात्रवृत्ति सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । 

कार्यविधिका समेटिएका व्यवस्थाका विषयमा दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार के. सी. र आशामान संगतले धारणा राख्नुभएको थियो । यही प्रस्तावको छलफलमा रोजिना श्रेष्ठले, आइतबार विद्यालय खोल्ने विषयलाई एकरुपता दिनु पर्ने सुझाव दिनुभएको थियो । 

बैठकले, काठमाडौँ महानगरपालिका प्रथम उपप्रमुख कप खोखो प्रतियोगता सञ्चालन गर्ने, वडा नं. १७ मा रहेको कन्या माध्यमिक विद्यालयमा छात्राहरुका लागि छात्रावास बनाउने, महानगर प्रहरी बलको कर्मचारी व्यवस्थापनका लागि पदपूर्ति समिति गठन गर्ने, जेनजी आन्दोलनका क्रममा क्षति भएका जन सेवा प्रहरी, महानगर प्रहरी वृत्त गौशाला र कालीमाटी पुनःनिर्माणमा ज्याला पारिश्रमिक उपलब्ध गराउनका लागि वडा नं. ७, ८, ९, ११, १२ र १४ वडा समितिको प्रस्ताव अनुमोदन गरेको छ । 

वैठकका विविध विषयमा ईश्वरमान डंगोल, बालकृष्ण महर्जन, सरोज ढकाल, विमलकुमार होडा, मचाराजा महर्जन, भुवन लामा र रोजिना श्रेष्ठले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार