काठमाडौँ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरीले पार्टी सभापति गगनकुमार थापाको राजीनामाभन्दा पनि १५औँ महाधिवेशनको मिति घोषणा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। गिरीले विशेष महाधिवेशनबाट २०८२ माघ १ गते निर्वाचित नेतृत्वले छोटो समयमै पार्टीको नीति, कार्यक्रम र एजेन्डा स्पष्ट पारेर आमनिर्वाचनमा सहभागी हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
उनका अनुसार करिब ५० दिनभित्रै १६५ निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्नु नेतृत्वको साहसिक र प्रशंसनीय कदम हो। उनले विशेष महाधिवेशन नेपाली कांग्रेसका लागि अपरिहार्य निर्णय भएको उल्लेख गर्दै समयको मागअनुसार नेतृत्व परिवर्तन आवश्यक भएको बताए। गिरीले कांग्रेसले परिवर्तन ढिलो गरी गरेको भए पनि अहिलेको नेतृत्वले पार्टीलाई पुनः प्रतिस्पर्धात्मक अवस्थामा ल्याउन प्रयास गरेको दाबी गरे।
उनका अनुसार देउवा समूहको असहयोग र बहिष्कारका बाबजुद कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी उल्लेखनीय सिट हासिल गर्ने अवस्था बनेको छ। यस्तो परिस्थितिमा सभापति गगन थापाको राजीनामा माग्नु भन्दा पार्टीलाई संस्थागत रूपमा बलियो बनाउन १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनले बताए।
गिरीले आमनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अब केन्द्रीय कार्यसमिति बैठकमार्फत चुनावी परिणामको समीक्षा गरी भावी रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पार्टीभित्र आत्मसमीक्षा गर्दै छिट्टै १५औँ महाधिवेशनको तयारी सुरु गर्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।