झापा । गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो ।
बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहक आउने गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताउनुभयो । बजार मूल्यभन्दा सस्तोमा बेच्दा स्थानीय उपभोक्तालाई लाभ पुग्ने र संस्थालाई पनि घाटा नहुने हुँदा सस्तो मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो । सहकारीले पाँच कठ्ठा जग्गामा सयपत्री फूलखेती गरेको थियो ।
सहकारीले मुनाफाका लागि आउने बिचौलियालाई यसपाली तिहारमा फूल नबेच्ने र स्थानीय वरपरका पालिकाका उपभोक्तालाई सिधैँ बिक्री गर्ने नीति लिएको थियो। उपभोक्ता महँगोमा नपरुन् भनेर बिचौलियालाई फूल नबेचेको अध्यक्ष ढकालको जिकिर थियोे । भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको जनाएको छ ।
यसैगरी मेचीनगर नगरपालिका–४ मा वडा कार्यालयले आफ्नै लगानीमा फूलखेती गरेको छ । आफ्नो वडामा बाहिरबाट फूल खरिद गर्नु नपर्ने वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा समेत सयपत्री फूलको तिहार लक्षित व्यावसायिक खेती भइरहेकाले ा झापा यसवर्ष फूलमा आत्मनिर्भर बन्ने अनुमान गरिएको छ ।