काठमाडाैँ । फिल्म ‘ऊनको स्वीटर’काे गीत 'तिमी जस्तै न्यानो, तिमी जस्तै शितल, ऊनको स्वीटर' सार्वजनिक भएकाे छ । गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण अंश सार्वजनिक भएकाे हाे । आर्टमान्डूले गीतको पूरा अंश ‘फूल’ शीर्षकमा सार्वजनिक गरेको हाे ।
गीतमा हर्क साउदका शब्दहरू रहेका छन । मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गरेकाे छ । गीतमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ। भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छ । लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो।
भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन्। ‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो। उक्त चलचित्रकाे केहीदिन अघि पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो।
फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा रहेका छन्। त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहेकाे छ।
फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन्। फिल्ममा गायक सुजन चापागाईं र कम्पोजर कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ।
अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्। फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्। फिल्म वैशाखबाट फ्लोरमा जानेछ। फिल्मलाई पाँचथरमा खिचिनेछ। आर्टमान्डूका अनुसार फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ।