काठमाडौँ । ‘मिस ग्राण्ड नेपाल–२०२४’ को घोषणा गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बिच उमङ्ग क्रिएशनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४’ घोषणा गरेको हो ।

प्रतियोगिताको विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाउने लक्ष्य रहेको उमङ्ग क्रिएशनका डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिनुभयो । उहाँले यो वर्ष ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल' को नारासहित ‘मिस ग्राण्ड नेपाल–२०२४’ को घोषणा गरिएको बताउनुभयो ।
उक्त सौन्दर्य प्रतियोगितामा सहभागी हुनका लागि आजबाट अनलाइन फारम खुल्ला गरिएको छ । यस वर्षको ‘मिस ग्राण्ड नेपाल–२०२४’ को ग्राण्ड फिनाले आगामी २७ अगष्ट २०२४ (भदौ ११ गते मंगलवार) हुने जनाइएको छ ।
यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समुहका अविवाहित महिलाहरुले आवेदन दिन सक्ने छन् । आवेदकहरुको उचाइ कम्तिमा पाँच फिट तीन इन्च हुनु पर्ने जनाइएको छ ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि असार ३१ गते भित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । यो अवधिमा फाराम भर्ने प्रत्येक सहभागिले आयोजक संस्थाले निर्धारण गरेका सम्पूर्ण नियम तथा शर्तहरु अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । उमङ्ग क्रिएशनले ‘मिस ग्राण्ड इन्टरनेशनल’ को फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो । यो प्रतियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछन् ।