प्रधानमन्त्री प्रचण्डद्वारा ल्हासास्थित ऐतिहासिक पोताला दरबारको अवलोकन भ्रमण

दक्ष खबर 6065+ समाचार ( )
१० अशोज २०८०, बुधवार

  तिब्बत ।     चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले ल्हासामा रहेको ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन भ्रमण गर्नुभयो ।   

समुन्द्री सतहबाट करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ । पोताला दरबार क्यास्टल शैलीमा निर्माण गरिएको तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरुले दरबारका बारेमा जानकारी गराउनुभएको थियो  । 

 त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन भ्रमण गर्नुभयो । जोक्खाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ ।  यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए । यो मन्दिर बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र स्थलका रुपमा रहेका छ ।   

यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तीलाई भक्तजनहरुले विशेष महत्वका साथ सम्मान गर्ने गर्दछन । मन्दिरको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरुले मन्दिरका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले गर्नुभएको दुबै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरु पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार