हेम्स अस्पतालसँग गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सम्झौता, नगरवासीले उपचारमा छुट तथा सुविधा पाउने
२१ श्रावण २०८३, शुक्रबार
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरवासीलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेम्स अस्पताल (हस्पिटल फर एडभान्स्ड मेडिसिन, मेडिसिन एन्ड सर्जरी लिमिटेड–HAMS)सँग स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरेको छ।
हेम्स अस्पतालमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा तथा हेम्स अस्पतालका चिकित्सक र प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा तथा नगरपालिकाको सिफारिसका आधारमा उपचारका लागि हेम्स अस्पताल पुग्ने नागरिकले विभिन्न स्वास्थ्य सेवामा विशेष छुट तथा सुविधा पाउनेछन्। अस्पताल भर्ना (IPD) सेवामा अस्पतालको बिलमा १० प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको छ। यद्यपि आउटसोर्स सेवा, एम्बुलेन्स शुल्क, इन-पेसेन्ट फार्मेसी, इम्प्लान्ट, मेडिकल डिभाइस, सिंगल क्याबिन, डिलक्स तथा सुइट रुमलगायतका सेवामा भने उक्त छुट लागू नहुने सम्झौतामा उल्लेख छ।
त्यस्तै, बहिरंग (OPD) सेवा, प्रयोगशाला तथा विभिन्न परीक्षण शुल्कमा पनि १० प्रतिशत छुट प्रदान गरिनेछ। साथै, बिरामीको कुल उपचार खर्चको १० प्रतिशत रकम नगरपालिकाले अस्पताललाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। क्यासलेस मेडिकल इन्स्योरेन्सबाट उपचार गराउने बिरामीका हकमा भने उक्त छुट सुविधा लागू नहुने सम्झौतामा उल्लेख गरिएको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख दीपककुमार रिसालले नागरिकको स्वास्थ्य र शिक्षालाई नगरपालिकाको पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो। आर्थिक अभावका कारण कुनै पनि नगरवासी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विभिन्न अस्पतालसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले हेम्स अस्पतालसँगको यो सम्झौता त्यसैको निरन्तरता भएको बताउनुभयो।
उपप्रमुख सान्नानी लामाले नगरवासीले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ विभिन्न अस्पतालसँग चरणबद्ध रूपमा सम्झौता गरिएको बताउनुभयो। आगामी दिनमा पनि नागरिकको स्वास्थ्य सेवामा पहुँचलाई अझ प्रभावकारी बनाइने उहाँको भनाइ थियो। यसअघि पनि गोकर्णेश्वर नगरपालिकाले विभिन्न अस्पतालसँग सहकार्य गर्दै स्वास्थ्य सेवामा छुट तथा अन्य सुविधा उपलब्ध गराउँदै आएको छ।