पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ उभिएका छौँ : माधवकुमार नेपाल

दक्ष खबर 16458+ समाचार ( )
४ आषाढ २०८०, सोमबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आम निर्वाचन अगाडि नै समाजवादी मोर्चा घोषणा गर्ने उद्देश्य राखिएको भए पनि तत्कालीन अवस्थाका कारण सम्भव नभए पनि हाल आएर सफल भएको बताउनुभयो । मोर्चा स्वार्थ, सिद्धान्तहीन र विचारहीन मोर्चा नभएको उल्लेख गर्दै उहाँले पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताउनुभयो । मोर्चा कोही कसैलाई फकाउन र कोही कसैलाई तर्साउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ छ । “कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौँ, दबाब दिन खोजेको होइन । तिनै तर्सिछन्, जो अग्रगमनको पक्षमा छैनन् । मोर्चामा केही नयाँपन छ”, अध्यक्ष नेपालले भन्नुभयो, “२०४६ सालको जनआन्दोलनको बेलामा पनि वाम मोर्चा बनेको तथा २०६२/६३ मा पनि त्यस्तै परिवर्तनकारी मोर्चा बनेको थियो । विगतका यी मोर्चाको अनुभव सकारात्मक रहेको थियो ।” सरकारमा रहेका र नरहेका शक्ति एक ठाउँमा उभिनु नै मोर्चाको नयाँपन रहेको स्पष्ट पार्दै अध्यक्ष नेपालले अग्रगामी चिन्तन बोकेको र मोर्चामा आबद्ध दलका बीचमा एकापसमा विश्वास रहेको एवं समानता रहेको बताउनुभयो । उहाँले २०७४ मा नेपाली जनताले तत्कालीन नेकपालाई अत्यधिक मत दिएको भए पनि त्यसलाई रक्षा गर्न नसकिएको तथ्य पेस गर्दै विगतको अनुभवबाट शिक्षा लिएर अगाडि बढ्न चाहेको बताउनुभयो । समाजमा अत्याचार, शोषण गर्नेलाई कुनै पनि छुट नदिन र दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष नेपालले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले मुलुकको समग्र पक्षको अध्ययन तथा विश्लेषण गरेर नेपाली विशेषतासहितको समाजवाद निर्माण गरिने दृढता व्यक्त गर्नुभयो । “हामी सक्छौँ, हामी गर्न सक्छौँ भन्ने विश्वासका साथ अगाडि बढ्छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “कोही पनि निराश हुनु जरुरी छैन । आशावादी बनौँ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार