काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् ।
बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागरिकलाई रैतीबाट नागरिक बनाएको महान् दिनको रूपमा मूल्याङ्कन गर्दै, आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार पनि यही क्रान्तिमा रहेको उल्लेख गरेकी हुन् ।
‘२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैतीबाट नागरिक बनाउने एउटा महान् दिन थियो । आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग पनि २००७ सालको राजनीतिक क्रान्ति नै हो,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले प्रजातन्त्र दिवस मनाउँदा हामीले आत्मसमीक्षा गर्नुपर्ने औँल्याउँदै भनेकी छन्, ‘संविधानमा समानता लेखिए पनि व्यवहारमा विभेद र असमानता कायम रहेको छ ।’
लोकतन्त्र केवल प्रक्रिया मात्र नभई परिणाम दिने प्रणाली भएको र आम मानिसको जीवनमा यसको वास्तविक झल्को देखिनुपर्ने उनले जोड दिइन्।
उनले भनिन्, ‘भदौ २३ र २४ मा जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन जनताका गुनासा सुन्न असफल संरचनामाथिको प्रश्न थियो । उक्त आन्दोलनले भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य खोजेको हो । सुशासन र समन्याय खोजेको हो । यसप्रति राज्य उदार मात्र होइन, विनयशील र कर्तव्यनिष्ठ पनि हुनुपर्दछ।’
प्रधानमन्त्री कार्कीले यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते हुने भएकाले त्यसलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिइन्।
आगामी संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउनेमा उनी विश्वस्त रहेको पनि बताइन् ।