काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ ले आयोजना गरेको निःशुल्क आँखा शिविर ३३१ जनाले सेवा लिएका छन् । काठमाडौँ महानगरपालिका वडा - ८ को आयोजना एवं रामघाट प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्य र नेपाल आँखा कार्यक्रम-तिलगंगा आँखा प्रतिष्ठान, द फ्रेड हलोज फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरको ३३१ जनाले निःशुल्क सेवा लिएका हुन् ।
काठमाडौँ महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगतले उल्लेख मात्रमा आखाँको समस्या भएका स्थानीयहरूको सहभागीतामा शिविर सम्पन्न भएको बताउनुभयो । उहाँले, विभिन्न रोगहरूलाई लक्षित गरेर समय समयमा यस्तो खाले शिविर वडाले सञ्चालन गर्दै आईरहेकोले सहभागीताकालागि सबैलाई आग्रह गर्नुभयो । रोग बाजा बजाएर नआउने हुनाले समयमानै सचेत भएर उपचारतर्फ अग्रसर हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै, रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका जन स्वास्थ्य निरीक्षक रन्जना कुमारी साहले निःशुल्क आँखा शिविरबाट ३३१ जनाले सेवा लिएकाे बताउनुभयो । उहाँले, ३३१ जना मध्ये महिला १९१ जना र पुरुष १४० जनालाई सेवा प्रदान गरिएकोमा डावेटिक रेटिनोप्याथीको स्क्रीनिङ्ग जाँच गरिएको संख्या ११३ जना रहेको बताउनुभयो । त्यस्तै, सहभागी मध्ये १४ जनामा समस्या देखिएको र ५ जनालाई अस्पताल रेफर गरिएको बताउनुभयो । शिविरमा १९ जनामा मोतिविन्दुको समस्या देखिएको र उहाँहरूलाई अस्पताल रेफर १९ गरिएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका वडा ८ ले विभिन्न स्थानमा निःशुल्क शिविरहरू सञ्चालन गर्दै आईरहेको छ ।