काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा साहित्य, संगित र कलाको मिश्रणबाट अभिव्यक्त हुने सृजना, गजलको व्यापकता, मर्म र गहिराइलाई आत्मसाथ गर्दै गजलको फाँटलाई बृहत् बनाउने उद्देश्य अनुरुप आगामी वैशाख २३ गते शनिवार प्रतियोगितात्मक गजल महोत्सव गर्ने भएको छ ।
नगरपालिकाले पत्रकार सम्मेलन गरि नगर प्रमुख दिपक कुमार रिसालले नेपाली साहित्य क्षेत्रका दिग्गज व्यक्तित्वहरु रमेश बिकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता मूर्धन्य व्यक्तिहरुको कर्मथलो हुनुका साथै उहाँहरुले नेपाली साहित्यमा प्रदान गरेको योगदान, स्रष्टा र साहित्यकारको उच्च सम्मान राख्नुपर्ने मान्यता नगरपालिकाको रहेको बताउनु भएको थियो ।
नेपाली साहित्यमा कलम चलाउने साहित्यकारहरूको हौसला बढाउँन नेपाली गजल प्रतियोगितामा संभवत सबै भन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको बताइएको छ । जसअनुसार प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ४० हजार, तेस्रो पुरस्कार ३० हजार र सान्त्वना पुरस्कार पाँच जनालाई जनही २० हजारका दरले र अन्य ३२ जनालाई जनही ३ हजारका दरले प्रदान गरिने जानकारी दिइएको छ ।
गजल प्रतियोगिताका प्रारम्भिक छनोट समितीले करिब १०० वटा गजल छनोट गर्नेछ । पहिलो चरणबाट छनोटमा रहेका १०० गजलबाट अन्तिम मुल्यांकन गरि उत्कृष्ट ४० गजल छनोट गरिने छ। छनोटमा परेका सर्जकहरू गायन तथा वाचनका लागि बिहान १० बजे कार्यक्रम स्थल आई सक्नुपर्ने बताउँदै वाचन तथा गायन पश्चात निर्णायक मणडलबाट घोषणा अनुरुप पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने नगर प्रमुख दिपक रिसालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।