काठमाडौँ । मनोरञ्जन र एडभेन्चरलाई सबै उमेर समूहसम्म पुर्याउने उद्देश्यले १५ असार २०८० मा स्थापना भएको इम्पेरियन स्काई एक्स पुनः नयाँ व्यवस्थापनसहित खुलेको छ। वन्डर्स नेपालले नयाँ संरचना, नयाँ सेवा विस्तार र आधुनिक सुविधा जोडेर स्काईवाक टावरको औपचारिक रि–ओपनिङ गरेको हो।
नयाँ व्यवस्थापनका सञ्चालक डिजे सन्तोष सुवेदी हुन्। २००० को दशकमा पुराना नेपाली गीतलाई आधुनिक शैलीमा पुनःरचना गर्दै ‘नाचिदेऊ मैच्याङ’, ‘लेकाली हे चोया’, ‘मै छोरी सुन्दरी’, ‘चियाबारीमा’ जस्ता दर्जनौँ लोकप्रिय गीत बजारमा ल्याएर चर्चित बनेका उनी अहिले मनोरञ्जन व्यवसायमा सक्रिय छन्।
सुवेदी भन्छन्, ‘हाम्रो उद्देश्य यहाँ आउने हरेक ग्राहकलाई विशिष्ट आतिथ्य दिनु र संगीत–नृत्यमार्फत उस्तै स्तरको सेवा प्रदान गर्नु हो। इम्पेरियन स्काई एक्सलाई प्रिमियम इन्टरटेनमेन्ट स्पेसका रूपमा स्थापित गर्न हामी समर्पित रहनेछौँ।’
कुल ११ करोड रुपैयाँ लागतमा पुनः तयार गरिएको स्काईवाक टावर चार अलग–अलग अनुभवका खण्डमा विभाजन गरिएको छ। सबैभन्दा माथिल्लो तलामा ओपन डेक रहनेछ, जसमा टफेन ग्लासमा हिँड्ने एडभेन्चरदेखि ओपन क्लबको मज्जा लिन सकिने छ।
क्लोज्ड क्लब संगीत, नृत्य र पार्टीको लागि पूर्ण साउन्ड–लाइट सेटअपसहितको मनोरञ्जन कक्ष रहनेछ, फाइन डाइन रेस्टुराँमा परिवार तथा समूहका लागि उच्चस्तरीय फाइन डाइनको सुविधा र सामान्य भेटघाट, लाइट स्न्याक्स र चिल–स्पेसका लागि छुट्टै क्याफे सञ्चालनमा ल्याइएको छ।
चारै तलामा जन्मदिन, म्यारिज एनिभर्सरी, ग्रुप इन्टरटेनमेन्ट, प्रेस कन्फरेन्सलगायतकाइभेन्ट प्याकेजको विशेष सुविधा उपलब्ध गराइएको छ।