काठमाडौँ । लामो समयदेखि शिक्षा, समाजसेवा तथा साहित्यमा आफूलाई समर्पित गर्दै आउनु भएका राजधानीको गोकर्णेश्वर नगरपालिका वडा - ५ निवासी उद्धव रायमाझीलाई मणिराम अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार प्रदान गरिएको छ ।
अभिनव साहित्य समाजले गरेको कार्यक्रममा प्रतिनिधि सभा अन्तरगत अर्थ समितिका सभापति रहनु भएका सन्तोष चालिसेले रायमाझीलाई नगद १० हजार सहित सम्मान गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले राजधानीको पूर्वी क्षेत्रमा शिक्षा, समाजसेवा तथा साहित्यको श्रीवृद्धिका लागि रायमाझीले ठूलो योगदान दिनु भएको बताउनुभयो । बौद्धिक एवं सामाजिक व्यक्तिबाट मात्रै समाज परिवर्तन सम्भव भएकाले त्यस्ता व्यक्तिको सम्मान हुनुपर्ने चालिसेले बताउनुभयो ।
गोकर्णेश्वर नगरपालिका वडा - ५ र ९ का वडा अध्यक्ष क्रमश नारायणबहादुर सुवेदी र राजीव थापाले समुन्नत समाजको निर्माणमा रायमाझी जस्ता उदारहणीय व्यक्तिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
अभिनव साहित्य समाजका संस्थापक अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, उपाध्यक्ष विमल अर्याल लगायतले समाजका विविध गतिविधिबारे जानकारी गराउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार रामबाबु पहारी, वरिष्ठ गीतकार आनन्द अधिकारी लगायतका स्रष्टाहरूले आ—आफ्नो रचना वाचन गर्नु भएको थियो ।
सम्मानित व्यक्तित्व रायमाझीले आगामी दिनमा शिक्षा, समाजसेवा तथा साहित्यमा थप समर्पित रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले पुरस्कार रकम मध्ये १ हार्दिकता सहित ग्रहण गरी ९९९९ आयोजक संस्थालाई नै हस्तान्तरण गर्नु भएको छ ।
चार दशक अघिदेखि विभिन्न संघ संस्था मार्फत् सामाजिक क्षेत्रमा क्रियाशील रायमाझी भैरव पुरस्कार गुठी, साहित्य सदन, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान लगायतका साहित्यिक संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
तत्कालीन जाेरपाटी गाउँ पञ्चायतमा प्रधान पञ्च रही विकासका बहुअायामिक पक्षकाे पूर्वाधार सिर्जना गर्नुभएका दिवंगत मणिराम चालिसेकाे नामका निजका छाेराहरू श्री अच्युत चालिसे र दिवाकर चालिसेकाे दातव्यमा अभिनव साहित्य समाजले स्थापना गरेकाे दुइलाखकाे अक्षय काेशकाे व्याजबाट याे पुरस्कार सञ्चालन हुने गरी सर्वप्रथम याे पुरस्कार प्रदान गर्न सुरु भएकाे छ । अागामी दिनमा पनि याे क्रम जारी रहने छ । उपराेक्त समाचार प्रसार गरिदिने पत्रकार भाइ निर्मल अर्याल भाइलाइ धेरै धेरै धन्यवाद ।