एकआपसमा लडिरहने र झगडा गरिरहने हो भने खेल क्षेत्रको विकास हुँदैन्‌ : खेलकुदमन्त्री

दक्ष खबर 15672+ समाचार ( )
४ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासको लागि वातावरण सहज बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । 

मंगलबार ललितपुरमा आयोजित कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक कार्यक्रममा उनले एकआपसमा लडिरहने, झगडा गरिराख्ने र खेलाडीहरुको बारेमा नसोच्ने हो भने खेल क्षेत्र विकास हुन नसक्ने भन्दै यसको लागि आवश्यक पहल गर्न मन्त्रालय तयार रहेको बताए । 

उनले भने, ‘हामी सधैँ एकआपसमा लडिरहने, झगडा गरिराख्ने हो भने खेलाडीहरुको प्रगती कसरी हुन्छ । खेलाडीहरुको बारेमा सोच्दै नसोच्ने, जहिले पनि मुद्दामा मात्र जाने हो भने यो क्षेत्रको पनि विकास सम्भव हुदैँन् । समस्या सम्बोधन गर्न र वातावरण सहज बनाउन हामी तयार छौ ।’

यसको साथै, उनले संघहरु नियम अनुसार नियमित सञ्चालन नभएको भन्दै संस्थाहरुलाई नियमित भएर चल्न पनि आग्रह गरेका छन् । 

उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्को ठूलो इतिहास छ । तर अहिले पनि खेलकुदलाई व्यवस्थित तरिकाबाट अगाडि बढाउन सकेको छैन् । ओलम्पिक कमिटी र संघका साथीहरुलाई पुनः आग्रह गर्न चाहन्छ, तपाईहरु सबै नियमित हुनुपर्छ । किनभने धेरै जस्तो संघहरु हाम्रो नियम अनुसार नियमित छैनन् । संस्थाहरुलाई सधैँ टालटुल गरेर सञ्चालन गर्नु हुदैँन् ।’ 

आगामी वर्षको बजेटमा खेलाडी र रिटायर्ड भएका खेलाडीहरुको छोराछोरीलाई प्याबसन र एनप्याबसनले छात्रवृत्ति दिने कुरा केही दिनभित्र टुङ्गो लाग्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार