सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
३ जेठ २०८१, बिहीबार
विश्व शान्ति दीप अर्थात् लुम्बिनी पिस फ्लेमबाट बुद्ध जन्मस्थल मायादेवी मन्दिर र पवित्र पुष्करणी कुण्डलाई फन्को लगाई तिलौराकोटतर्फ प्रस्थान गरिसकेको छ । कीर्तिमानी धावक मानन्धरसहित खेलाडीहरू बाबुराजा श्रेष्ठ, अर्जुन घिमिरे, राधा श्रेष्ठ, दीपक लामा, सुरेन्द्र महर्जनको टोलीले उक्त ज्योति लुम्बिनीबाट तिलौराकोटा कपिलवस्तु, सिद्धार्थनगर (भैरहवा), रामग्राम (नवलपरासी), चितवन धादिङ, काठमाडौँ हुँदै मे २९ सगरमाथा दिवसका दिन बिहान एभरेष्ट म्याराथन हुने स्थल सगरमाथाको आधार शिविरमा पुर्याउने छन् ।
म्याराथन सुरु हुनुअघि लुम्बिनीबाट पुर्याइएको दीपको पूजा गरिन्छ । आधार शिविरमा स्वदेशीसहित दुई सय ५० बढी विदेशी धावक र विभिन्न देशका राजदूतहरूले प्रत्यक्षरूपमा उक्त पिस फ्लेमको दर्शन गर्ने अध्यक्ष पाँडेले बताउनुभयो । यो कार्यले लुम्बिनी र सगरमाथा एकापसमा नजिकबाटै जोडिने उहाँको भनाइ छ ।
रुपन्देही । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ ।
एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रीयमार्फत दक्षिण एसियामा म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बौद्ध भिक्षुहरूबाट बौद्ध परित्राण पाठ गरी ‘लुम्बिनी पिस फ्लेम’ नाम दिइएको उक्त शान्ति दीपको ज्योति टर्चलाइटमा प्रज्ज्वलन गरी हस्तान्तरण गरिएको हिमालय एक्सपिडिसनका संस्थापक एवं अध्यक्ष विक्रम पाँडेले जानकारी दिनुभयो । उहाँले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट सगरमाथासम्म पुर्याइने यो यात्राले यस क्षेत्रलाई नयाँ पहिचान दिलाएको बताउनुभयो ।
“ओलम्पिक टर्च र ओलम्पिक फ्लेम लिएर दौडिने पहिचान ग्रिससँग गाँसिएको छ । अब विश्वमा दोस्रो स्थानको पनि जन्म भएको छ”, पाँडेले भन्नुभयो, “यो सातौँ संस्करण हो । यसको जन्म भगवान् गौतमबुद्धको जन्मस्थलबाट सगरमाथासम्म भएको छ ।” उहाँले यो प्रतियोगिताले संसारको ध्यान तानेको र यसले पर्यटकहरूको आगमनमा सहयोग पुर्याएको बताउनुभयो ।
विसं २०७२ को भूकम्पपछि शान्ति दीपको ज्योति सगरमाथाको आधार शिविरमा मे २९ गतेका दिन पुर्याइने गरिएको थियो । कोरोना सङ्क्रमणका कारणले एभरेष्ट म्याराथन हुनसकेको थिएन । म्याराथन सगरमाथाको आधार शिविरबाट सुरु भई नाम्चे बजारमा आएर समापन हुने धावक मानान्धरले जानकारी दिनुभयो ।