काठमाडौँ। काठमाडौंको नागार्जुन नगरपालिकाले पालिका भित्रका व्यवसाय तथा उद्योगहरुको निरिक्षण तथा अनुगमन गर्दा जारको पिउने पानीमा किरा र लामखुट्टेको लार्भा भेटेपछि कावाहीका लागि काठमाडौं महानगरपालिकालाई पत्र पठाएको छ ।
बजार अनुगमनलाई तिब्रता दिदैँ आएको नगरपालिकाले अनुगमनका क्रममा वडा ५ मा रहेको पसलमा रहेको पिउने पानीको जारमा किरा र लामखुट्टेको लार्भा भेटिएको उपमेयर शुशिला अधिकारीले जानकारी दिनुभयो। उहाँले बजार अनुगमनको क्रममा एक्युयूए नाइन्टीनाइन नामको पानीको जारभित्र किरा र लामखुट्टेको लार्भा भेटिएपछि पानी उत्पादक कम्पनीमै गएर निरिक्षण गरिएको बताउनुभयो।
उहाँले, कामपाको वडा नम्बर १६ को बालाजु औद्योगिक क्षेत्रमा रहेको त्रिवेणी वेभरेज इण्डस्ट्रिजले उत्पादन गर्ने जारको पानी रहेको पत्ता लागेपछि कारबाहीका लागि नगरपालिकाले काठमाडौं महानगरपालिकालाई पत्र पठाएको थियो । उपमेयर अधिकारीले, जारको पानीमा निरिक्षण गर्दा पानीमा किरा र लामखुट्टेको लार्भा भेटिएको बताउनुभयो । उत्पादक कम्पनी कामपाको क्षेत्राधिकार भित्र पर्ने हुँदा कारवाहीका लागि महानगरपालिकालाई पत्र पठाएको उहाँले बताउनुभयो ।
नागार्जुन नगरपालिकाले खाद्य मापदण्ड विभाग र उपभोक्ता संरक्षण विभागसँग सहकार्यमा पालिकाभित्रका उद्योग तथा व्यवसायहरुको बजार अनुगमनलाई तिब्र बनाइ रहेको छ । बजारको विकृति, विसंगति र बेथितिप्रति उपभोक्ता आफैं बढी सचेत र सजग रहँदै यदि त्यस्तो पाइएमा नगरपालिकामा खबर गर्न समेत आग्रह गरेको छ।