काठमाडौँ । प्रोग्रेसिव एजुकेसनल फोरमको आयोजनामा ९औँ पीईएफ गर्ल्स एण्ड ब्वाइज बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रोग्रेसिव एजुकेसनल फोरमका सदस्य विद्यालयहरुबीच उक्त प्रतियोगिता सम्पन्न भएको हो । उक्त फोरममा १० ओटा विद्यालयहरू सहभागी रहेका छन् ।
उक्त बास्केटबल प्रतियोगितामा सेन्ट लरेन्स स्कुलले छात्रातर्फ दोस्रो र छात्रतर्फ तेस्रो स्थान हासिल गरेको छ । उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई विद्यालयले अभिभावक सहित विजय उत्सब समेत गरेको थियो ।
बधाई ज्ञापन कार्यक्रममा पीइएप्रोग्रेसिव एजुकेसनल फोरमका अध्यक्ष सीता भट्टराईले प्रतियोगिताले उदाहरणीय खेलकुद प्रदर्शन मात्र नगरेको तर, सदस्य विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धाको भावनालाई बढावा दिँदै युवा प्रतिभालाई पोषण गर्ने मञ्चको रूपमा पनि काम गरेको बताउनुभयो । साथै उहाँले, सबै सहभागी खेलाडीहरू र विजेता विद्यालयहरूलाई उनीहरूको समर्पण र उत्साहजनक प्रदर्शनको लागि हार्दिक बधाई दिनुभएको थियो l
कार्यक्रममा सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जनले, 'प्रत्येक खेलाडी र विद्यार्थीलाई कोर्टमा असाधारण प्रदर्शन गरेकोमा बधाई दिदैँ यो जितले खेलाडीहरूको पराक्रमलाई मात्र प्रकाश नपारेको तर, खेलकुदको माध्यमबाट समग्र विकासको लागि विद्यालयको प्रतिबद्धता पनि देखाएको बताउनुभयो । '
त्यस्तै, सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालले 'विद्यार्थीको सिकाई किताबी ज्ञानमा मात्र सिमित नराखेर विद्यार्थीका प्रतिभा र समग्र विकासको लागि सेन्ट लरेन्स स्कुल हिजोदेखि आज र भोलीसम्म निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो l'
टोलीको सफल व्यवस्थापनको जिम्मेवारी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुरज थापाले गर्नुभएको थियो । खेलमा मुख्य प्रशिक्षक पुकार नेपालले टोलीको रणनीति र प्रदर्शनलाई आकार दिन निर्णायक भूमिका निर्वाह गर्नु भएको थियो l खेलकुद प्रतियोगिताको समापन समारोहमा काठमाडौँ महानगरपालिका वडा ७ का वडा अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यता रहेको थियो ।