काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन् ।
महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ । उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।
विशेष महाधिवेशनलाई लिएर देशभरबाट ठूलो संख्यामा कांग्रेस नेता–कार्यकर्ता काठमाडौँ भेला भइरहेका छन्। आयोजक समितिले महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जनाएको छ ।