काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गर्दै पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आज बिहान सर्लाहीमा आयोजित एक कार्यक्रममार्फत कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई पार्टीमा स्वागत गरेका हुन्। कांग्रेसमा पुनरागमनसँगै मकवानपुरको राजनीतिक समीकरण फेरि तातेको छ।
पराजुली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका थिए। मनहरी गाउँपालिकाका निवासी उनी मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो संगठनात्मक पकड भएका नेताका रूपमा चिनिन्छन्। रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेका पराजुलीलाई अन्तिम समयमा टिकट नदिइएपछि उनी असन्तुष्ट बनेका थिए।
मकवानपुरमा पार्टी निर्माणमा योगदान पुर्याएका नेताहरूलाई पाखा लगाएर पछि आएका व्यक्तिलाई प्राथमिकता दिएको भन्दै रास्वपाभित्रै असन्तुष्टि बढ्दै गएको चर्चा छ। सोही असन्तुष्टिको पृष्ठभूमिमा पराजुलीको पार्टी त्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कांग्रेस प्रवेशपछि पराजुलीले रास्वपामा बसेर सच्चा राजनीतिक अभ्यास गर्न नसकिने अनुभूति भएको बताएका छन्। “रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ,” उनले भने, “पुँजीवादी सोच हावी भएको संरचनामा बस्न मन लागेन, त्यसैले कांग्रेसमै फर्किएको हुँ।”
यस घटनाले मकवानपुरमा रास्वपाको संगठनात्मक आधार कमजोर हुने विश्लेषण गरिएको छ भने कांग्रेसले स्थानीय तहदेखि संघीय निर्वाचनसम्मको तयारीमा थप ऊर्जा पाउने अपेक्षा गरिएको छ।