काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ तिलङ्गामा लिच्छविकालदेखि रहेको विष्णुविक्रान्त मन्दिर पुनः निर्माणका लागि क्षमा पुजा सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगतलगायत वडा सदस्यहरूले उक्त मन्दिरको पुनः निर्माणका लागि क्षमा पुजा गर्नुभएको हो ।
पाशुपत क्षेत्रको पुरातात्त्विक मूर्तिका रूपमा रहेको विष्णुविक्रान्त मन्दिर पशुपति क्षेत्रकै तिथिमिति अङ्कित सर्वप्राचीन मूर्तिका रूपमा लिइने गरेको छ । विष्णुविक्रान्त लाई (वामनदेव) को मन्दिरका रूपमा समेत लिने गरिन्छ ।
"उक्त मन्दिरको पुनः निर्माणका लागि पुरातत्त्व विभागको स्वीकृति सहित काठमाडौँ महानगरपालिका वडा ८ को पहलमा मन्दिर निर्माण गर्न लागिएको", वडा अध्यक्ष आशामान संगतले बताउनुभयो ।
कामपा ८ मा रहेका विभिन्न पुरातात्त्विक मठ, मन्दिर, इनार कुवा लगायतका ऐतिहासिक वस्तुहरूको वस्तुनिष्ट खोजी गरी त्यस्को संरक्षणमा कामपा लागि परेको उहाँले बताउनुभयो ।
ऐतिहासिकता झल्काउने हिसावले ठाउँ, बस्ति, मार्ग लगायतका कुनै पनि वस्तुको वास्तविक पहिचान गुम्न नहुने वडाअध्यक्ष संगतले बताउनुभयो । उक्त मूर्तिलाई विक्रम संवत अंकित पुरानो मूर्तिका रूपमा समेत लिइन्छ ।