काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान संसदले निर्माण गर्ने नीति नियमले नै शिक्षामा सुधार आउने बताउनुभएको छ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २४औँ बार्षिकोत्सवलाई सम्वोधन गर्दै सभामुख घिमिरेले शिक्षा सुधारको जिम्मेवारी गहन रुपमा बोक्नुपर्ने बताउनुभयो ।
उहाँले, प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै प्रभावकारी ढंगबाट सञ्चालन गर्ने शिक्षित जनशक्तिबाट देश निर्माणमा योगदान हुने, उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु बेरोजगार बस्नु नपर्ने र शिक्षार्थीहरुलाई प्रशस्त सुविधाको वातावरण निर्माण गर्ने जस्ता कार्यमार्फत शिक्षामा सुधार गर्न नीति निर्माणमा जोड रहेको बताउनुभयो ।
उहाँले यी सुधारहरुका लागि अरु कसैले निर्माण गरेका नियम, कानून वा ऐनबाट नभइ आफूहरुले नै निर्माण गरेको नियम, कानून र ऐनहरुबाट मात्र संभव हुने धारणा राख्नुभयो ।
निराशाबाट समृद्ध भविष्यको खोजीमा विदेश रोज्ने युवा शक्तिका लागि सुरक्षित भविष्यको वातावरण नेपालमै निर्माण हुने विश्वास ब्यक्त गर्नुभयो । ‘युवा जनशक्तिलाई व्यवहारिक र बैज्ञानिक शिक्षा प्रदान गर्दै नेपालमा नै भविष्य खोज्ने वातावरण सिर्जना गर्नका लागि हामी लागिरहेका छौ’ सभामुख घिमिरेले भन्नुभयो ।