कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान

दक्ष खबर 16621+ समाचार ( )
कान्सको ७९ औँ श्रृङ्खला १२ देखि २३ मे सम्म आयोजना हुँदै
२ जेठ २०८३, आइतबार

काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गर्नुभएको छ । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उहाँ ८ गते स्वदेश फर्कने कार्यक्रम छ । 

कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

प्रमुख डंगोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको इलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट वि. सं. २०८० कार्तिक १४ गते काठमाडौँ महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रुपमा चयन भएको हो । यो वर्ष विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रुपमा थप नाम सार्वजनिक गरियो । यही बेला काठमाडौँ महानगरसहित विश्वका २६ वटा नगर चलचित्र विधाबाट सदस्य भए । रचनात्मक सहरको विश्व सहर सञ्जालमा १ सय भन्दा धेरै देशका ४ सय वटा सहरहरु आवद्ध छन् ।

रचनात्मक उद्योगमा चलचित्र, संगीत, डिजाइन, शिल्प तथा लोक कला, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला लगायत विधामा सदस्यता प्रदान हुने गरेको छ । चलचित्र सहरका रुपमा सबैभन्दा पहिले छानिएको सहर संयुक्त राज्य वेलायतको व्राडफोर्ड हो । यो सन् २००९ मा छनोट भएको हो । सन् २०१० मा अष्टे«लियाको सिड्नी छानियो । सन् २०१४ मा यस विधामा ३ वटा सहर छानिए । जसमा दक्षिण कोरियाको बुसान, आयरल्याण्डको गल्बे र बुल्गेरियाको सोफिया छन् । सन् २०१५ मा ३ वटा सहर छानिए । जसमा नर्थ म्याकाडोनियाको विटोला, इटालीको रोम र व्राजिलको सान्तोस छन् ।

सन् २०१७ मा संयुृक्त राज्य बेलायतको ब्रिस्टोल, पोल्याण्डको लोज, चीनको क्वान्दो, स्पेनको टेरेसा र जापानको यामागाता गरी ५ वटा नगर छानिए । सन् २०१९ मा भारतको मुम्बइ, जर्मनको पोष्टडाम, बोस्निया हर्जगोभियाको साराजेभो, स्पेनको भालाडोलिड र न्युजिल्याण्डको वालिङ्टन गरी ५ वटा सहर छानिएका हुन् । सन् २०२१ मा ३ वटा सहर चलचित्र विधामा छानिए । जसमा पोल्याण्डको ग्ड्यानिया, फ्रान्सको क्यानेस र रोमानियाको क्लुज नेपोका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार