काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटकहरु सहजीकरण गर्नका लागि विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । सोमबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिनुभएको हो ।
मन्त्रीपाण्डेले भन्नुभयो, त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ, उहाँले थप्दै भन्नुभयो,एक पटक आउने विदेशी पर्यटकहरुलाई पटक पटक आउने खालको वातावरण बनाउनुपर्छ । उहाँले त्रिभुवन विमानस्थल विदेशीहरुका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीहरुले राष्ट्रिय पहिचान झल्किने खालको पोशाक लगाउन समेत आग्रह गर्नुभयो ।
मन्त्रीपाण्डेले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलले हाल ९० लाख यात्रुहरुलाई सेवा दिनु पर्ने बाध्यता रहेको स्मरण गर्दै प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्न समेत अनुरोध गर्नु भएको छ ।
उहाँले विमानस्थलमा देखिएका समस्याहरुको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न समेत निर्देशन दिनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, भन्सार, अध्यागमन, एयरलाइन्स, क्यान कसले के के काम गर्ने र कति सयम भित्र गर्ने भनि प्राथमिकरण गर्नुहोस्। त्यसका लागि १५ दिन भित्र कार्ययोजना बनाएर अघि बढ्नुहोस् ।
मन्त्री पाण्डेले विमानस्थलमा आउने गुनासाहरुलाई सहज रुपमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशन दिँदै अन्तरमन्त्रालय मार्फत हुने समन्वात्मक कार्यका लागि अग्रसर रहने समेत बताउनुभयो ।