बालेनको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर, बालेन भन्छन्, 'म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन'
७ आषाढ २०८०, बिहीबार
काठमाडौँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ ।
बुधबार सङ्घकोतर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “रिट दायर भएको छ, उहाँहरूले सम्पूर्ण हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयलाई खारेज गर्ने माग गर्नुभएको छ, आउँदो बिहीबार यसको सुनुवाइ हुनेछ ।”
महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै गत सोमबारदेखि १७ चलचित्र भवनमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको थियो ।
यो सँगै प्रमुख शाहले सामाजिक सञ्जालमा, 'जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ' लेख्नु भएको छ ।