बौद्धनाथ क्षेत्रमा आचार्य पद्मसम्भवको जन्म दिन र महाँकाल जात्रा मनाउने
१८ श्रावण २०८२, शनिबार
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचकिृत बौद्धनाथ क्षेत्रमा आचार्य पद्मसम्भवको जन्म दिन र महाँकाल जात्रा मनाउने तयारी भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले आचार्य पद्मसम्भव अर्थात् गुरु रिन्पोछेको जन्मदिनको अवसरमा यस वर्ष यही साउन १९ गते सोमबार बौद्धनाथ क्षेत्रस्थित महाँकाल र तीनचुलेमा रहेको प्रतिमा स्थल एवं घ्योलिसाङ पोखरीसँगैको उद्यान क्षेत्रमा पूजापाठ गरिने बताउनुभयो ।
मध्याह्न १२ बजेसम्म पूजापाठ सकी अपराह्न ३ बजे तीनचुलीबाट गुरु रिन्पोछेको प्रतिमासहित बौद्ध महाचैत्य परिक्रमा गर्ने गरी शोभायात्राको कार्यक्रम तय गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
शोभायात्रामा बौद्ध क्षेत्रका ७० वटा संस्थाको प्रतिनिधिको सहभागिता रहने छ । त्यस दिन साँझ बौद्ध महाचैत्यमा दीपावली गर्ने कार्यक्रमसमेत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न नौ वटा उपसमिति पनि गठन गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि सहभागी हुनुहुने जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो ।