काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद अधिवेशन बैठक नै नबस्दै स्थगन गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका सभापति गगन थापाको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले उक्त कदमलाई संवैधानिक नैतिकता र संसदीय अभ्यास विपरीत भनेको हो।
बैठकले संसदीय प्रणालीको मूल सिद्धान्त कार्यपालिका संसदप्रति उत्तरदायी हुने भएकाले बैठक नबस्दै स्थगन गर्नु लोकतान्त्रिक अभ्यास कमजोर पार्ने कार्य भएको उल्लेख गरेको छ। यस्तो प्रवृत्तिले संसदलाई स्वतन्त्र निर्णय गर्ने निकायभन्दा कार्यपालिकाको ‘औजार’ बनाउने जोखिम रहेको कांग्रेसको ठहर छ।
कांग्रेसले सरकारसँग अविलम्ब संसद बैठक सुचारु गर्न, स्थगनका वास्तविक कारण सार्वजनिक गर्न तथा संसदप्रति पूर्ण जवाफदेहिता सुनिश्चित गर्न माग गरेको छ। अन्यथा, पार्टीले सदन र सडक दुवै माध्यमबाट सशक्त विरोध गर्ने चेतावनी दिएको छ।