काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बीमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिने बताउनुभएकाे छ ।
आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उहाँले स्वास्थ्य क्षेत्रका कानुनहरु कार्यान्वयनका लागि कानुनी सुधार जरुरी रहेकाले स्वास्थ्य बिमा नियमावली संशोधन गरेर बिमा ऐनलाई परिमार्जन गरी अगाडि बढाइने बताउनुभयाे ।
उहाँले,‘स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बिमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिनेछ । यसको कानुनी प्रवन्धमा सुधार गर्न जरुरी छ । त्यसैले स्वास्थ्य बीमा नियमावली संशोधन गरेर ऐनलाई परिमार्जन गरी अगाडि बढाउने छौँ ।’
उहाँले अभ्यास गर्दै आएका केही कानुनी र नीतिगत प्रवन्धहरुलाई समयसापेक्षित सुधार गर्नेगरी प्रस्ताव गरेको जानकारी दिनुभयाे ।
उहाँले,‘हामीले अभ्यास गर्दै आएका केही कानुनी प्रवन्धहरुलाई समयसापेक्षित सुधार गर्ने केही नीतिगत प्रवन्धहरुलाई पनि आवश्यकता अुनसार सुधार गर्नेगरी प्रस्ताव गरेका छौँ । संवैधानिक प्रावधानअनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि र संघीयताको पूर्ण कार्यन्वयनका लागि आवश्यक नीति तथा कानुनको तर्जुमा संशोधन तथा एकीकरण गर्न आवश्यक देखिन्छ ।’
स्वास्थ्यमन्त्री पौडेलले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताउनुभयाे ।
उहाँले दुर्गममा स्वास्थ्य सेवा लैजान जनशक्ति व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाहमा प्रतिष्ठान, मेडिकल कलेज तथा विशिष्टीकृत अस्पतालसँग साझेदारी र समन्वय गरी काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयाे । उहाँले स्वास्थ्य बिमा कार्यक्रममा सुविधाको दायरा पाँच लाख रुपैयाँ पुर्याउन प्रस्ताव गर्नुभएकाे छ ।
अनौपचारिक क्षेत्रलाई समेत समेटेर सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा समेट्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव ल्याएको उहाँले बताउनुभयाे ।