धनगढी । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नु परेका समस्याको समाधान गर्नका लागि आफू लागिपरेको बताउनु भएको छ ।
कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीति बारे सरकार र नीजि क्षेत्रबीचको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, सडक मार्गका पूर्वाधारहरू समेत सहज बनाउन पर्ने देखिन्छ । प्रत्येक पर्यटकले हवाई र सडक यातायातबाट सास्ती बेहार्नु पर्ने समस्याको अन्त्य हुनुपर्छ ।
सम्बोधनका क्रममा उहाँले हवाई र स्थलमार्गबाट आउने पर्यटकको समस्याको पहिचान गरी त्यसको समाधानका लागि अन्तरमन्त्रालय छलफल भईरहेको बताउनुभयो ।
विविधता पूर्ण संस्कृति र प्राकृतिक विविधताका दृष्टिकोणले समेत भरिपूर्ण रहेको स्मरण गर्दै उहाँले सुदूरपश्चिम देवहरूको भूमि रहेकाले यहाँको महत्व निकै बढेको समेत बताउनुभयो।
मन्त्री पाण्डेले सुदूरपश्चिम जल, जंगल र जडीबुटी लगायतका पर्यटकीय क्षेत्रका दृष्टिकोणले निकै माथि रहेको समेत प्रष्ट पार्नु भयो।
उहाँले यस क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताउँदै सुदूरपश्चिमलाई कैलाश मानसरोवर जोड्न सके फाइदा पुग्ने बताउनु भयो ।
उहाँले धार्मिक,पर्यटकीय दृष्टिकोणले भारतीय पर्यटक भित्र्याउन सकेको अवस्थामा मात्रै ठूलो लाभ लिन सकिने विश्वास व्यक्त गर्नुभयो।साथै मन्त्री पाण्डेले
बर्दीयाको ठाकुरदारमा आगामी दिनमा हुने विषयगत समितिको बैठकमा सुदुरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत सहभागी हुन आव्हान गर्नुभयो।