नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री

दक्ष खबर 16507+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताउनु भएको छ । कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो ।

‘यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ । हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौं । आमा पनि बंश हो । आमाबाट पनि बंश कायम हुन्छ । आमाकै नागरिकता आधारमा सन्तानले नागरिकता गर्छ भन्ने कुरालाई सुनिश्चित गरिएको छ । बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्व हो,’ उहाँले भन्नुभयो ।

बाबु भएको आधार पुष्टि गर्न नसकेको पनि बाबुहरुको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँ ती नेपाली नागरिक आमाका सन्तानहरुका हकमा बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्ने गृहमन्त्री लेखकको भनाइ छ ।

उहाँका अनुसार नेपालको अन्तरिम संविधान बमोजिम बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहिन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।

यस्तै, नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गर्नुका साथै विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने गृहमन्त्री लेखकले बताउनुभयो । विधेयकमा सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

विधेयक पारित अदालतहरुबाट विभिन्न समयमा जारी भएका परमादेशहरुको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरुको कार्यान्वयनमा एकरुपता कायम हुने गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुनेछैन । साथै नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ भने आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले  अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।’ 

विद्यमान समयमा बदलिदो सामाजिक परिवेश अनुसार पहिचान विहिन भएर बस्नु परेको बैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुका सन्तानहरु नागरिकता विहिन भईरहेको अवस्थामा अङ्गिकृत नागरिकता प्राप्त गर्न सक्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार