डोलेगाल महिला समूहले जित्याे समूहगत तीज नृत्य प्रतियोगिताको उपाधि

दक्ष खबर 15672+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

काठमाडाैँ । डोलेगाल महिला समूहले सातौं उपत्यकाव्यापी विवाहित महिलाहरुको समूहगत तीज नृत्य प्रतियोगिताको उपाधि  जितेकाे छ । गोकर्णेश्वर नगरपालिका, सांस्कृतिक तथा पर्यटन मन्त्रालयको सहयोग र शिखर छहारी सांस्कृतिक कला केन्द्रको आयोजनामा सातौँ उपत्यकाव्यापी विवाहित महिलाहरुको समूहगत तीज नृत्य प्रतियोगिता सम्पन्न भएको हाे । उक्त प्रतियोगिताकाे बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटन पूर्वमन्त्री बिमल ठकुरीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

प्रतियोगितामा १७ वटा महिला समूह र विद्यालयहरुले सहभागिता जनाएका थिए । यसले उपत्यकाभरिका विवाहित महिलाहरुमा सांस्कृतिक चेतना अभिवृद्धि गर्दै पारम्परिक तीज नृत्यको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेको छ। सहभागी सबै समूहहरुले मनोयोगपूर्वक उत्कृष्ट प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पार्न सफल भएका थिए। 

कार्यक्रम अन्तर्गत विभिन्न समूहहरुले पारम्परिक तीज नृत्यका रंगीन प्रस्तुती प्रस्तुत गरेका थिए, जसले सांस्कृतिक विविधता र स्थानीय पहिचान झल्काएको थियो। कार्यक्रमकाे निर्णायक मण्डलमा वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक शरदा सोती शर्मा, र नृत्य निर्देशक संगीता खड्गीले प्रस्तुतीको तालमेल, मौलिकता, पोशाक, र समग्र प्रस्तुतीलाई आधार मानेर समूहहरूको मूल्यांकन गरेका थिए। 


प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गर्दै डोलेगमन महिला समूहले प्रथम स्थान हासिल गरी नगद रु ४०,०००, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थानमा आनन्द गणेश महिला समूहलाई नगद रु ३०,०००, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। तेस्रो स्थानमा आत्तरखेल महिला समाजले नगद रु २०,०००, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। चौथो स्थानमा सुन्ताखन समूहले नगद रु ५,०००, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने, पाँचौ स्थानमा डाँडागाउँ समूहले पनि नगद रु ५,०००, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। साथै “सातै सम्मान” को रूपमा सबै सहभागीहरूलाई पुरस्कार वितरण गरी थप प्रोत्साहन प्रदान गरिएको थियो। 

प्रमुख अतिथिहरूमा बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटन पूर्व मन्त्री माननीय बिमल ठकुरी, विशेष अतिथि पूर्व सांसद तथा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य कृष्ण बहादुर राई, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल, उपप्रमुख सान्ननी लामा, वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा ६ का अध्यक्ष नवराज लामा, वडा ८ का सदस्य सुमन लामा, सीता तिमल्सिना लगायत शिक्षक, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले विवाहित महिलाहरूको सामाजिक सहभागिता र सांस्कृतिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरिएको छ। कार्यक्रम प्रेमलाल श्रेष्ठको सभापतित्वमा र सेसेमीको संचालनमा समापन भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार