विद्युत क्षेत्रलाई गुणस्तरीय बनाउन सम्झौता अनुसार काम भएको छ : कुलमान घिसिङ
२५ श्रावण २०८१, शुक्रबार
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालीको घरमा विद्युत पुर्याउन विद्युतीकरण र विद्युतीय क्षेत्रलाई गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुदृढिकरणका लागि पर्याप्त काम भएको दाबी गर्नु भएकाे छ ।
आज नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका कामकारवाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले आफू प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्दै गर्दा उर्जा मन्त्रालयसँग गरेको सम्झौता अनुसार नै सुचकांकहरुमा सुधार भएको दाबी गर्नुभएकाे हाे ।
उहाँले, ‘उर्जा मन्त्रालय र प्राधिकरणमा आउने बित्तिकै विभिन्न सुचाकंहरुमा सुधार ल्याउनेगरी सम्झौता भएको थियो । उर्जा मन्त्रालयले गरेको कार्य सम्पादन र सम्झौताको मुल्यांकनमा आर्थिक वर्ष २०७८/०७९, २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको बताउनुभयाे ।’
मुलुकलाई लोडसेडिङमुक्त गरेर विद्युत आपुर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपुर्ति गराउन प्रणालीको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विकास गरिएको उहाँको दाबी रहेकाे छ ।
‘हरेक नेपालीको घरमा विद्युत पुर्याउन विद्युतीकरण, भरपर्दो गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुद्धृढिकरण, उत्पादनतर्फका ठुला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखेकाे उहाँले बताउनुभयाे ।
देश लोडसेडिङमुक्त भएर विद्युत आपुर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपुर्ति गराउन प्रणाीलको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विषेशगरि अगाडि बढाइएको छ,’उहाँले बताउनुभयाे ।