काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंकाे काेटेश्वरस्थित लागू औषध नियन्त्रण व्युराेकाे कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधकाे उत्पादन, भण्डार र प्रयोग ठूलाे चुनाैतिका रुपमा देखिएकाे बताउनुभएको हाे ।
उहाँले भन्नुभयाे, "लागू औषधकाे प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धकाे महाअभियान लागू गरेका थियौं । त्याे अभियान सार्थक भएको छ ।"
विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताउनुभयो । "आगामी दिनमा थप प्रभावकारी ढंगले याे चुनाैतिकाे सामना गर्नु छ । स्राेत साधानकाे कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ । त्याे याे एक वर्षमा देखिएको छ," उहाँले भन्नुभयो । लागू औषधकाे विगविगी देखिएको भन्दै यसविरुद्धकाे अभियानमा सबैकाे सहयोग आवश्यक रहेकाे उहाँको भनाइ छ ।
"खास गरेर युवाहरुमा यसकाे लत देखिएको छ । देशकाे भविष्य जाेडिएकाे युवा शक्ति लागू औषधमा फसकाे देखिएकाे छ, उहाँले भन्नुभयो, "लागू औषधविरुद्धकाे महाअभियानले परिणाम ल्याएको छ । लागू औषधकाे अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ । याे प्रहरीको मात्र हाेइन । सबै मानिसकाे जिम्मेवारी हाे ।"
यस्तै गृहमन्त्री लेखकले लागू औषध व्युराेलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भयाे । "लागू औषध व्युराेलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ, " उहाँले भन्नुभयो ।
गृहमन्त्रीले लागू औषध व्युराेलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिनुभयो । कार्यक्रममा महानिरीक्षक थापाले लागू औषध व्युराेलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीकाे प्रस्ताव सराहनीय रहेको बताउनुभयो ।