काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकूदकाे भूमिका महत्त्वपूर्ण हुने बताउनुभएकाे छ ।
आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसाेसियसनकाे आयाेजनामा शुरू भएकाे टी-२० क्रिकेट प्रतियोगिताकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले युवाहरूलाई समनजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने भन्दै उहाँले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने बताउनुभयाे ।
'खेलकुदले खेलाडीकाे स्वास्थ्य त राम्राे हुन्छ नै । तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । अनुशासनकाे विकासकका लागि पनि खेलकूदकाे धेरै महत्व छ,'उहाँले भन्नुभयाे ।
आफ्नाे बेलामा कराँतेकाे क्रेज रहेकाे भन्दै त्यसपछि फुटबल र अहिले क्रिकेटकाे क्रेज रहेकाे पनि उहाँले बताउनुभयाे । खेलाडीकाे क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धाहरू आवश्यक रहेकाे भन्दै उहाँले टी- २० क्रिकेट प्रतियोगिता सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।