काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ । शनिबार बिहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो।
हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सहकार्य गरिरहेका छन् ।
सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । थापाथली क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ ।
बस्ती हटाउने तयारीसँगै सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको हो। सरकारले आजदेखि ती क्षेत्रका सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि स्थानीयमा तनावपूर्ण अवस्था देखिएको छ ।
यसअघि सम्बन्धित निकायले बस्ती खाली गर्न नमाने कानुनी कारबाही गरिने चेतावनी दिएको थियो। तर स्थानीयवासीले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।