काठमाडौँ । वडा वडामा उत्पादन भएका मौलिक बस्तुलाई अन्तरराष्ट्रिय बजारमा खपत योग्य बनाउन काठमाडौँ महानगरपालिकाले लगानी गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।
वडा २३ ले आयोजना गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिमको समापन अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । तालिम गएको पुस २१ गतेदेखि हरेक शनिवार प्रशिक्षण चल्दै आएको थियो ।
‘उद्यमशील तालिम क्षमता बढाउन लागि मात्र होइन । व्यापार बढाउने सञ्जाल विकास गर्न, बजारीकरण सिप बढाउन र आय वृद्धिका लागि पनि हो ।’
उहाँले भन्नुभयो, ‘तालिमबाट प्राप्त गरेको ज्ञान र सिपलाई निरन्तर अभ्यास गरेर उत्पादनको मात्रा र स्तरमा सुधार हुनेछ । विक्रीमा वृद्धि भएर आय थपिनेछ । महानगरपालिकाको लगानी यसका लागि हो ।’