काठमाडौँ । पशुपति देवपत्तनमा लाखे झ्यालिञ्चा 'लाख्य प्याखँ' नाग पञ्चमीदेखि शुरूवात भएको छ । करिब ४५ वर्षपछि गतबर्षबाट पाशुपत क्षेत्रमा लाखे झ्यालिञ्चा शुरूवात भएको हो ।
दथु त्वा: बाजा खलले यसको महत्त्वलाई पुनर्ताजगी गर्दैँ यसलाई शुरूवात गरेको हो । लाखे झ्यालिञ्चा नाच बाजाको तालमा आरम्भ हुने नाच हो । लाखेनाच अमूर्त संस्कृतिसँग जोडिएको नाचका रूपमा लिइन्छ ।
लाखेले रातो मुखौटा लगाएको कालो, सेतो कपाल, मुखबाट निस्किएका दुईवटा सेता दाह्रा तथा रातै तासको लुगा लगाएको हुन्छ भने, जामा, चोलो, फित्ता, जनीः (पटुका), घड्ला, हातमा पुतलीका पखेटा जस्तै भएको रूमाल लिएको हुन्छ । लाखेलाई आस्थापूर्वक पुजा गर्ने प्रचलन परापूर्व कालदेखि नै रहदैँ आएको छ । लाखेलाई शान्त भैरवका रूपमा पनि लिइन्छ ।
लाखे नाचमा लाखे र झ्यालिँचाले एक अर्कालाई लखेट्ने र जिस्क्याउने गर्दछन् । यस मार्फत लाखेले लोक प्रति श्रद्धा भाव बढाएको बुझिन्छ ।
झ्यालिञ्चाको रुपमा सानो बालकले लाखेलाई जिस्याउने, खेल्छ र लाखे पनि झयालिञ्चा सँग जिस्कदैँ खेल्दै रमाइलो गर्दै गाउँ टोल घुम्ने परम्परा रहेको छ ।
सामान्यतया झ्यालिँचाको उमेर ५ देखि १२ वर्षसम्मको हुने गर्दछ । स्थानअनुसार लाखेको मुकुण्डो र कपालको रङ्ग फरक, फरक हुने गरेको पाइन्छ । ठाउँअनुसार यसको नाच्ने शैलीमा पनि पृथक्ता रहेको पाइन्छ ।
यो नागपञ्चमीबाट शुरूवात भएर कृष्णजन्माष्टमीसम्म निरन्तर चल्ने गर्दछ ।