देशको नक्सा कोर्न राजनीतिमा आएँ : संजयकुमार महतो

दक्ष खबर 16514+ समाचार ( )
६ माघ २०८२, बिहीबार

काठमाडौँ । विद्यार्थी राजनीतिबाट उदाएर अब संसद भवनमा आफ्ना विचार राख्न तयार युवा इन्जिनियर हुन् संजयकुमार महतो। धनुषा जिल्लाको बट्टेश्वर गाउँपालिका–१ मा जन्मिएका संजयको बाल्यकाल आम बालबालिकाको भन्दा फरक रह्यो। यसको कारण थियो, उनको बोली।

संजय नौ वर्षको उमेरसम्म बोल्न सकेनन्। नौ वर्षपछि बिस्तारै बोल्न थाले पनि कक्षा १२ सम्म आइपुग्दा उनका कुरा करिब १० प्रतिशत मात्र मानिसले बुझ्थे। तर आज त्यही बोली उनको शक्ति बनेको छ। बाल्यकाल सम्झँदै उनी भन्छन्, “दुई कक्षामा पढ्दा बुबाले सोध्नुभयो, ठूलो भएपछि के बन्छस् ? मैले कापीमा लेखेर देखाएँ इन्जिनियर र नेता। बुबा हाँस्नुभयो, तर मैले देखेको सपना आज पूरा गर्दैछु।”

इन्जिनियर बनेर काम गर्न थालेको करिब एक दशक भइसकेको छ। विभिन्न स्थानका नक्सा कोरेका संजय अब देशको नक्सा कोर्न राजनीतिमा आएको बताउँछन्। “म जत्तिकै युवालाई मत दिएर माया गर्नुहुन्छ भन्ने विश्वास छ,” उनी भन्छन्।

भाषण गर्ने बानी धेरै नभए पनि संजय आफ्ना तर्क र विचार स्पष्ट र आत्मविश्वासका साथ प्रस्तुत गर्छन्। ढिलो बोल्न थालेकाले सायद उनलाई आफ्नो आवाज अझ टाढासम्म पुर्‍याउने चाहना छ। गणितमा सानैदेखि निपुण संजय आज पनि जटिल अंकगणित झट्टै हिसाब गर्न सक्छन्। तर चुनावी अंकगणित भने ठ्याक्कै निकाल्न सकेका छैनन्।

उनलाई विश्वास छ, “एकसँग पैसा छ, अर्कोसँग संगठन छ, कसैसँग हावा। मसँग युवाको साथ र समर्थन छ। म युवा हुँ, इन्जिनियर हुँ, नयाँ उम्मेदवार हुँ। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले खोजेजस्तै नेता हुँ।”

२०६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका संजयले विभिन्न सरकारी कार्यालयसँग सहकार्य गर्दै विकास निर्माणका काम गरे। धनुषा जिल्लामै डीपीआरदेखि खानेपानी आयोजनासम्मका काममा उनको संलग्नता छ।

राजनीतिक चेतना उनले परिवारबाटै पाए। पञ्चायतकालविरुद्ध संघर्ष गरेका हजुरबुबादेखि २०५४ सालमा जनमोर्चाबाट वडा अध्यक्ष निर्वाचित भएका बुवासम्मको राजनीतिक विरासत संजयको रगतमा मिसिएको छ। तर पारिवारिक आर्थिक जिम्मेवारीका कारण बुवाले सक्रिय राजनीति छाड्नुपर्‍यो। यही पृष्ठभूमिमा संजय विद्यार्थी राजनीति हुँदै जेनजी आन्दोलनसम्म आइपुगे।

क्याम्पस जीवनसँगै उनको राजनीतिक सक्रियता थप विस्तार भयो। तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीति थालेका उनले क्लास कमिटी हुँदै बागमती प्रदेश कमिटीमार्फत केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले। पछि सचिवालय सचिवको रूपमा पनि काम गरे। जेनजी आन्दोलनको प्रभावकै कारण उनले पार्टीबाट टिकट पाए र अहिले धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्।

संजयका आमाबुवा किसान हुन्। आज पनि उनका बुबा बर्दिवासका सडकमा उभिएर आलु र अन्य तरकारी बेचिरहेका छन्। किसानले भोग्ने समस्या उनले नजिकबाट देखेका छन्, जसको असर उनको राजनीतिक सोचमा स्पष्ट देखिन्छ।

उनको वैवाहिक जीवन पनि परम्परागत सोचभन्दा फरक छ। मधेशमा गहिरो जातीय विभाजनबीच संजयले अन्तरजातीय विवाह गरे। दाइजो प्रथालाई अस्वीकार गर्दै विवाहको सम्पूर्ण खर्च आफैंले बेहोरेको प्रसंग उनी मुस्कुराउँदै सुनाउँछन्। उनकी श्रीमती पेशाले चिकित्सक हुन् भने संजय इन्जिनियर, जुन संयोजन आफैंमा सामाजिक सन्देश बनेको छ।

काम गर्ने क्रममा नीति–नियमकै कारण समावेशी र सन्तुलित विकास हुन नसकेको अनुभवले उनलाई राजनीतिमा ल्यायो। उनी भन्छन्, “चुनावको समयमा म आश्वासन बाँड्दिनँ। पहिले पेशागत रूपमा विकास निर्माणमा थिएँ, अब पनि देश विकासकै काम गर्छु।”

उनका अनुसार अबको विकास भनेको बाटो खन्ने मात्र होइन, समयअनुकूल स्मार्ट विकास हो। शिक्षालाई वैज्ञानिक, प्राविधिक र जीवनोपयोगी बनाउन सकेमात्रै बेरोजगारमुक्त मधेश निर्माण सम्भव हुने उनको धारणा छ। नीति परिवर्तनका लागि एक्लो सांसद पर्याप्त नहुने भए पनि शिक्षाको मुद्दा संसदमा जोडदार रूपमा उठाउनुपर्ने उनी बताउँछन्।

अस्पताल र स्वास्थ्य चौकी बने पनि आवश्यक उपकरण, प्रविधि र औषधिमा गम्भीर लापरवाही भएको उनी औंल्याउँछन्। औषधिमा कमिसनको खेल र नीतिगत भ्रष्टाचारकै कारण युवाले सडकमा आन्दोलन गर्नुपरेको उनको ठम्याइ छ। “जेनजी आन्दोलनमा युवाले बगाएको रगत खेर जान दिनु हुँदैन,” उनी भन्छन्।

संजयका अनुसार नेपालले अहिले उपयोग गर्न नसकेको युवा शक्ति भविष्यमा फिर्ता आउँदैन। कुल जनसंख्याको ठूलो हिस्सा युवा हुँदा पनि देश रित्तिँदै जानु बाध्यता बनेको उनी बताउँछन्। त्यसैले प्राविधिक, सिपमूलक र जीवनोपयोगी शिक्षामा राज्यको लगानी अनिवार्य भएको उनको निष्कर्ष छ।

प्रतिनिधिसभाको सांसद बनेपछि उनी पार्टीका कार्यकर्तामा सीमित नहुने बताउँछन्। “युवा पुस्ता, बौद्धिक वर्ग, समाज, गाउँ र आम नागरिकसँगै म रहनेछु,” उनी भन्छन्।

युवा नेतृत्वको खोजीमा देशले ठूलो आन्दोलन गरेको उल्लेख गर्दै संजय अन्त्यमा भन्छन्, “त्यो आन्दोलन खेर जान नदिनकै लागि मैले उम्मेदवारी दिएको हुँ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार