जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुने
१२ जेठ २०८३, बुधवार
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो ।
नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसैगरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ०५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिनुभयो ।