मतदाता नामावली दर्ता गर्न/गराउन महामन्त्रीद्वयको परिपत्र
८ कार्तिक २०८२, शुक्रबार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन अपिल गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उहाँले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न÷गराउन अपिल गर्नुभएको हो ।
उहाँहरूले संयुक्तरूपमा विशेष परिपत्र जारी गरी जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाँती राखेर ‘मतदाता दर्ता अभियान’मा लाग्न निर्देशन गर्दै प्रदेश संसदीय दलमा रहनुभएका सबै साथीलाई आ–आफ्नो क्षेत्रमा बसेर ‘मतदाता दर्ता अभियान’ व्यापक बनाउन निर्देशन र परिचालन गर्न अपिल गर्नुभएको हो ।
जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने उल्लेख गर्दै उहाँहरूले दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लग्नुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिन नै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यहोरा सबैलाई स्पष्ट बुझाउन पनि अनुरोध गर्नुभएको छ ।