काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ का विभिन्न ७ वटा स्थानहरूमा साप्ताहिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना, सांस्कृतिक महानगर अन्तरगत काठमाडौँ महानगरपालिकाले विभिन्न सात वटा वडामा यस कार्यक्रमलाई साप्ताहिक सांस्कृतिक कार्यक्रम अन्तरगत अगाडि बढाइ रहेको हो ।
सोहि कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिका वडा -८ काे पशुपति भुवनेश्वरी डवली, इट्टापाखा, दथु टोल, जयवागेश्वरी परिसर, नवाली टोल, तिलगंगा तथा पशुपति परिसरमा रहेको घ्याम्पे सत्तलमा कार्यक्रम सम्पन्न भएको काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा -८ का वडा अध्यक्ष आशामान संगतले बताउनुभयो । उहाँले, विशेषगरी डवली तथा पाटीहरूमा कलाकारहरूले प्रस्तुत गरिएकाले बाजागाजाको माध्यमबाट समाजलाई एकत्रित गरिएको समेत बताउनुभयो ।
उहाँले काठमाडौँ महानगरपालिका कला, भाषा, जात्रा, पर्व, मेला, अमूर्त सम्पदाको संग्रहालय रहेको बताउदैँ यहाँ धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेकोले हजारौं चार्ड पर्व, जातजाति, रितिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको संगतले बताउनुभयो ।
उहाँले कला, संस्कृतिको जीवन्त इतिहास तथा प्राचीन विशिष्ट शैलीको निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरू मध्येको एक सहरका रूपमा काठमाडौँ परिचित रहेको पनि बताउनुभयो ।
लोक संस्कृति एवं परम्परागत बाजागाजाको महत्त्वलाई अंङ्गिकार गर्दै यस किसिमका कार्यक्रमको आयोजना हुनु आफैमा सह्रननीय कार्य भएको वडाअध्यक्ष आशामान संगतले बताउनुभयो । वडा अध्यक्ष संगतले यस कार्यक्रमलाई कामपाले निरन्तर रूपमा अगाडि बढाउने लक्ष्य राखेको बताउनुभयो ।
उहाँले, विशेषगरी सम्पदा तथा पर्यटन विभागको तदारूकतामा बाजा गाजाको संरक्षणार्थ विभिन्न कार्यक्रमहरू भईरहेको बताउदैँ सांस्कृतिक कार्यक्रममा धिमे बाजा, बाँसुरी, नाय्खीं, धा: धिमे, पछिमा, खिं, मादल, नाय खिं, भुस्या, ता: चिम्ता बबुचा छुस्या लगायतका बाजाहरू समेटेर कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।
सांस्कृतिक कार्यक्रममा मंगलधुन, सयथरी बाजा, येला लुवया, सितला, जिगु थो मन, झांगद, धा: बाजा, पशुपतिनाथ, लाखे, म्युजिक कम्पोजिसन, ल्यामम दाजु मिक्स कम्पोजिसन लगायतका धुनहरू प्रस्तुति गरिएको थियो ।
यस कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । जसमा कलाकारहरू नेवारी पहिरनमा प्रस्तुत भएका थिए भने, उहाँहरूले नेवारी बाजा गाजा रितिस्थिति प्रचलन एवं ऐतिहासिकता जोगाईराख्नु पर्ने बताएका छन् ।
त्यस्तै, करिव ७५ जना कलाकारले सामुहिक रूपमा प्रस्तुत गरेको कार्यक्रममा सबै कलाकारहरू आ-आफ्नो मौलिक परम्परागत रूपमा सजिएको थिए । विदेशी तथा नेपाली स्थानीयहरूको सहभागीता रहेको कार्यक्रम करिव २ घण्टा प्रस्तुत गरिएको थियो ।