सिरहा। प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेका छन्।
पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालीकाको १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेका हुन्।
राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतबाट हजारौंको संख्यामा प्रत्यक वर्षझैं यस वर्षपनि दर्शनार्थीहरु बिहानैदेखि भिडलाग्न थालेको सञ्चारकर्मीसमेत रहेका स्थानीय अनुभक्त चौधरीले जानकारी दिए।
प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा फूल्नेगरेको जनविश्वास छ। ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन्।
पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फुलवारी अन्य दिन पर्यटकहरु पुग्ने गरेपनि आज नयाँ वर्षको दिन विशेष पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ।
हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ।
सलहेश फूलवारी मेला व्यवस्थित गर्न यस वर्ष फूलबारी क्षेत्रमित्र सामानहरु बेच्न प्रतिवन्ध लगाएको छ। दर्शनार्थीहरुको सहजताको लागि फूलबारी क्षेत्रभन्दा बाहिरमा सवैलाई सहज हुनेगरी सामान विक्रिका स्टलहरु निर्माण गर्न दिईएको मेला समितिले जनाएको छ।