चीन । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुक तीव्र आर्थिक समृद्धिको यात्रामा रहेकाले आर्थिक कूटनीतिमा ध्यान दिन ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई निर्देशन दिनुभएको छ ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले चीनका सिजाङ्ग (ल्हासा)मा रहेको नेपाली माहावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रममा मुलुकको समृद्धिमा आर्थिक कूटनीति महत्त्वपूर्ण रहेको बताउनुभयो ।
मुलुक आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेकाले यसलाई ठोस नतिजामा पुर्याउन र यसलाई मूर्तरुप दिन ठोस योजनाबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “ठोस नतिजा देखिने र द्रूत प्रगति हुने काममा योजनाबद्ध भई काम गर्न दूतावासले आर्थिक कूटनीतिलाई अधिकतम प्रयोग गर्नुपर्छ ।”